नेपालले आज अफगानिस्तानसँग खेल्दै, सुपर सिक्समा पुग्न दुबै टिमलाई जित्नै पर्ने दबाब

Nepal Cover
१२ माघ २०८०, शुक्रबार
image

काठमाडौँ । आईसीसी यू–१९   विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजे सुरु हुने छ।

यस अघिका दुई खेलमा लगातार हार व्यहोरेको नेपाललाई सुपर ६ को यात्रा तय गर्न अफगानिस्तानविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ। उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ।

नेपालले यसअघि पाकिस्तान र न्युजिल्यान्डसँग पराजय बेहोरेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।

समूह ‘डी’ मा रहेको नेपाल आज आफ्नो समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो। समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्।

त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्। सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।