पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

Nepal Cover
१६ माघ २०८०, मंगलवार
image

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन्। भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो।आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ छ।आमचुनावको मुखैमा उनलाई लामो समयका लागि जेल सजाय सुनाइएको हो। 

यसअघि नै उनलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो भने उनको पार्टीको चुनावी चिह्न पनि खोसिएको थियो।

उनीहरुमाथि अमेरिकाका लागि पाकिस्तानी राजदूतले वासिङ्टनबाट इस्लामाबाद पठाएको गुप्त कूटनीतिक सन्देश चुहाएको आरोप लगाइएको छ। पदच्युत हुनुभन्दा एक महिनाअघि मार्च २०२२ मा खानले एक सम्बोधनका क्रममा आफूविरुद्ध विदेशी षड्यन्त्र भइरहेको बताउँदै मञ्चमा एउटा कागजात देखाएका थिए। उनले कुनै मुलुकको नाम नलिए पनि अमेरिकाको चर्को आलोचना गरेका थिए।

अभियोक्ताहरुले खानको सो काम गुप्त दस्तावेज चुहाउनुबराबर रहेको र त्यसले कूटनीतिक सम्बन्ध बिगारेको दाबी गरेका छन्। यो मुद्दा केही महिनादेखि खान रहेकै जेलभित्र खडा गरिएको विशेष अदालतमा सुनुवाइ भइरहेको थियो। जहाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जान दिइएको छैन।