August 7, 2020
रुकुम पश्चिम । श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने लेखापाल पक्राउ परेका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी पक्राउ परेका हुन् । उनीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह—लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको छ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले लेखापालसहित ४ जनालाई पक्राउ गरिएको जानकारी गराएका छन्। यद्यपि के कारण कुन अवस्थामा पक्राउ परे भन्नेबारे उनले केही बोल्न चाहेनन् । तर आफूविरुद्धका सबै प्रमाण नष्ट गर्नकै लागि उनीहरु राति नौँ बजे कार्यालयमा गएको स्रोतले बताएको छ।
राति करिब ९ बजेको समयमा कार्यालयमा आएर कागजात नष्ट गर्ने क्रममा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि सईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो।
आर्थिक वर्ष २०७६–०७७ मा लेखापाल केसीले विभिन्न शीर्षकको सरकारी रकम आफू, श्रीमती र त्रिवेणीमै लेखा सहयोगीको काम गर्ने भतिजा सुवासको नाममा जम्मा गरेको खुलेको थियो । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो ।
केसीले ८ लाख आफ्नो नाममा र विर्माको नाममा फरक फरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको थियो । त्यस्तै लेखा सहयोगीको रूपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका भेटिएको थियो।
आर्थिक वर्ष २०७६–०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो ।
सो क्रममा लेखापाल केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भईसकेको छ। तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको छ।
प्रकाशित मिति:August 7, 2020
March 28, 2025
March 28, 2025