शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
१६ माघ २०८०, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। 

०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको देखिएकाले अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगको अनुसार आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४/०४/२६ देखि मिति ०७९/०२/३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा  सो रकमको स्रोत नखुलेको फेला परेको अख्तियारले जनाएको छ।