ललितपुर महानगरका नगर प्रमुखद्वारा एलएमसी अलर्ट मोबाइल एपकाे सुभारम्भ

  Sampatti News Online

February 1, 2024

काठमाडौँ । ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्।

एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ। यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिए।

ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ। गुनासोहरूलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ । त्यस्तै, सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ।

नगरप्रमुख महर्जनले भने, ‘आज शुभारम्भ गर्‍यौं। यसले एकदम राम्रो सेवा प्रदान गर्छ भन्ने हाम्रो आशा छ। काम गर्दै जाँदा कुनै किसिमको ढिलोपन अथवा समयमै सम्बोधन गर्न नसकेको किसिमको वातावरण सिर्जना भयो भने हामी त्यसलाई समयमै सम्बोधन गरेर त्यसलाई सुधार गर्छाैं। तर हाम्रो ठम्याइ त्यसले राम्रोसँग सेवा प्रवाह गर्छ। यसको लागि पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ। पूर्वाधार तयार गर्ने सन्दर्भमा हामी लागि परेका छौं। तर सबै पूरा भइसकेको छैन। त्यसका निम्ति रातो पुस्तिकामै बजेटको व्यवस्थापन गरेर अगाडी बढिरहेका छौं।’

एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ। त्यस्तै, बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडकबत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ। त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति:February 1, 2024