रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

  Sampatti News Online

February 4, 2024

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदै छ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत   मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिनुभयो । सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुने छ । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।

 दबाब यात्रामा  सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद गौतमले बताउनुभयो ।

प्रकाशित मिति:February 4, 2024