चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी पक्राउ 

  Sampatti News Online

February 4, 2024

काठमाडौं । प्रहरीले चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) लाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेको भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन्। तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो । अदालतले ३ वर्ष कैद र ४ करोडको जरिवाना सुनाएपछि उनी फरार भएकी थिइन्।

फरार रहेकी केसीलाई काभ्रेबाट पक्राउ गरिएको छ । फैसला कार्यान्वयका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

प्रकाशित मिति:February 4, 2024