February 5, 2024
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म २५ जनको आवेदन परेको हो ।
आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय छन् ।
त्यस्तै डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न निवेदन दिएका छन् । त्यस्तै आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालसमेत रहेको उनले बताए ।
टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।
जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरु आकांक्षीका रुपमा देखिएका छन् । तर दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ऐन र नियावलीअनुसार योग्यता नराखिएको विवाद भएपछि सर्वोच्च अदालतमा रिट समेत परेको छ ।
सचिव सुवेदीको नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेर मन्त्रिपिरषदमा नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यसैअनुसार मन्त्रिरपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
प्रकाशित मिति:February 5, 2024
November 24, 2024