भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ : राष्ट्रपति

  Sampatti News Online

February 11, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भने भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु,’, उनले भने, ‘नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो ।’

भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे ।

विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।

जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताए । प्रकृति मानिसका आवश्यकता पूरा गर्न सक्षम छ तर मानिसको लोभ पूरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए ।

सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक छ,’ उनले भने ।

उनले मुलुकमा भ्रष्टाचारविरुद्ध जागरण आउनेछ र विश्वस्तरीय भ्रष्टाचार सूचकाङ्कमा नेपालकोस्तरमा क्रमशः सुधार हुने विश्वास व्यक्त गरे । साथै, तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत उनले आव्हान गरे । ‘मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकूल वातावरणको सृजना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको छ,’ राष्ट्रपति पौडेलले भने ।

प्रकाशित मिति:February 11, 2024