आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

  Sampatti News Online

February 13, 2024

काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो ।

स्वदेश तथा विदेशमा रहेकाहरूलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागले जनाएको छ । सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वासका साथ हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाइएको विभागको भनाई छ ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई-भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रूपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई-भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई-सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेबापत कर्मचारीहरूले अर्थ मन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् ।

प्रकाशित मिति:February 13, 2024