तौलिहवा। कपिलवस्तु जिल्ला अस्पतालका अत्यावस्यक सेवा बाहेक सबै पूर्ण रुपमा बन्द गरिएको छ। सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।
अस्तपालका मे. स किशोर बन्जाडेका अनुसार अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।
अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन्।
आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।
हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक महिला कर्मचारीमा दुई महिनाअघि संक्रमण देखिएको थियो ।
त्यस्तै अस्पतालमा स्वाब संकलन गर्दै आएका ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन्। उनी अहिले आइसोलेसनमा छन्।