शालिन घटना पोस्टमार्टम रिपोर्ट आयो : बलात्कार भएको देखिएन

  Sampatti News Online

March 3, 2024

काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।

त्रिवि अस्पतालले आज पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले बतायो । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ ९झुण्डिएर० भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।

 शालिनको मृत्युपछि आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह-प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। उनीहरू अझै प्रहरीको हिरासतमै छन्।

प्रकाशित मिति:March 3, 2024