अबदेखि कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने,  सेयर किन्न भने पाउने

  Sampatti News

March 5, 2024

काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । उनीहरुले सेयर खरिद गर्न भने पाउने भएका छन् ।

सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्थाअनुसार कर्मचारीका लागि उक्त नियम लागू भएको । संघीय निजामती सेवा विधेयकमा कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण उल्लेख छ ।

कर्मचारीले खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न सकिने सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा उल्लेख छ ।

विधेयकमा कर्मचारीहरुले राजनीतिमा भाग लिन, सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा आदि प्राप्त गर्न र सापटी लिन बन्देज गरिएको छ ।

त्यस्तै नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न बन्धेज गरिएको छ ।

त्यसैगरी निजामती कर्मचारीले लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सन्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि प्रशिक्षण दिन पाउने छैनन् ।

प्रकाशित मिति:March 5, 2024