हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
२२ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियका अनुसार बाटो निर्माण योजनामा अनियमितता गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, अध्यक्ष धनलाल चौलागाईंसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाही, अध्यक्ष चौलागाईं, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा, सचिव हंशबहादुर ऐडी र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् । उनीहरू सबैसँग १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा चंखेली-३ स्थित मेलादेखि बासलधारासम्म काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

झुटो बिल भरर्पाइ तथा नक्कली कागजातलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।