पचरौता नगरपालिका वडाध्यक्षसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News

March 7, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार आज (बिहीबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनी गलत घरबाटो सिफारिस गरी–गराइ बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिस्ट्रेसन शुल्कबापतको राजस्व रकम ८ लाख ११ हजार ९५१ रुपैयाँ राजश्व हिनामिना भएको पाइएको छ ।

बाराको पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवले साबिक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको दाबी छ ।

अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवधकिशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

प्रकाशित मिति:March 7, 2024