राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने

Nepal Cover
२७ फाल्गुन २०८०, आईतवार
image

काठमाडौं । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते मङ्गलवारका लागि तोकिएको छ ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल भएको हो। आइतबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन्। उनले निर्वाचनसम्बन्धी कायक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन्।

राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ । तर, नेपाली कांग्रेसले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएको छ । राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।