तामाकोशी गाउँपालिकाका पूर्व उपाध्यक्षसहित १२ जना विरुद्ध अदालतमा मुद्दा दायर

  Sampatti News

March 10, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका पूर्व उपाध्यक्ष उर्मिला खड्कासहित १२ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार विशेष अदालतमा तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र , लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाईँ सहित १२ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका वडा नम्बर तीन जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको भेटिएको आयोगले जनाएको हो ।

लागत अनुमान डिजाइनसमेत संशोधन नगरी निर्माण कार्यको आकार वा रूप परिवर्तन गर्ने तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम १२ लाख ८९ हजार ३२० भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति:March 10, 2024