प्रमाण हेरेर अभियुक्तविरुद्ध अनुसन्धान र कारबाही गर्न उपप्रधानमन्त्री लामिछाने निर्देशन

  Sampatti News

March 10, 2024

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको बताउनुभएको छ  । प्रमाण हेरेर अभियुक्तविरुद्ध अनुसन्धान र कारबाही गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले अभियुक्तको अनुहार, पद, प्रतिष्ठा, पहुँच नहेरी निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिएका हुन् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफैं डटेर गर्ने उनको भनाइ थियो ।  राजनीतिक हस्तक्षेपका कारण प्रहरी सङ्गठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने अवस्थाको रहेको भन्नुहुँदै आफूले यसको अन्त्य गर्न चाहेको बताउनुभयो ।

केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने इच्छाशक्ति र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आफू सरकारमा आएको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नीति र विधिभित्र रहेर काम गर्न निर्देशन दिनुहुँदै उहाँले कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्न आग्रह गर्नुभयो ।  “तपाईँहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ सङ्गठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।  सरोकारवालासँग छलफल र गृहकार्य गरी प्रहरी समायोजन टुङ्गोमा पुर्‍याउनुपर्ने उहाँले भन्नुभयो

“हरेक नागरिकले सुरक्षित महसुस हुने गरी प्रहरीले सेवा दिनुपर्छ ।” उहाँले भन्नुभयो, “सानालाई ऐन र ठूलालाई चैनको अवस्था कुनै हालतमा पनि सह्य हुँदैन । न्याय सबैले पाउनुपर्छ । ” 

अनुसन्धान निष्पक्ष र बस्तुनिष्ठ हुनुपर्छ भन्नुहुँदै उहाँले आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिनुभयो ।  प्रहरी कर्मचारी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने पनि बताउनुभयो । “तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् ।” उहाँले भन्नुभयो ।  

प्रहरी सङ्गठनका विद्यमान समस्या समाधानमा आफू प्रयासरत रहने भन्नुहुँदै उहाँले प्रविधिको प्रयोगलाई पनि बढाउनु पर्ने बताउनुभयो । निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो । 

त्यसअघि उपप्रधानमन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति:March 10, 2024