प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी

  Sampatti News

March 11, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको एक सचेतकले जानकारी दिए। विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको उनले बताए। त्‍यस्तै राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते गर्ने पनि तयारी भइरहेको उनले बताए। 

संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको उनले बताए। ‘विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्का महासचिवलाई सम्बोधन गरेर संसदको कार्यसूचीमा राख्न पत्र आएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिवलाई दिनुभएको हो। ‘महासचिवज्यूले पत्र आएपछि उहाँले सभामुख देवराज घिमिरेलाई जानकारी गराउनु भएको छ।’

प्राप्त जानकारि अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ। सभामुख ज्यूले २९ गते कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ। त्यहाँ छलफल हुन्छ। कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सम्भवतः प्रधानमन्त्रीले मागेकै दिन अर्थात् फागुन ३० गते बिहान ११ बजेलाई तोक्नुहुनेछ।’

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए।प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको  थियो। मत दिन्नमा एक मत खसेको थियो।

हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रचण्डले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै माओवादी केन्द्रले सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरेको छ।

प्रकाशित मिति:March 11, 2024