काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना संसद सदस्यलाइ विश्वासको मत नदिन ह्विप जारी गर्नुभएको हो ।
फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।
कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
