सङ्घीय निजामती सेवा ऐन छिटाे पारित गरिनुपर्छ : सामान्य प्रशासनमन्त्री जोशी

  Sampatti News

March 13, 2024

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा ऐनलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताएका हुन् । “संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा ऐन चाँडो पास गर्नुपर्ने आवश्यकता छ । ऐनमा के कस्ता व्यवस्था छन् तिनलाई समृद्ध बनाएर लैजानुपर्ने हुन्छ”, उनले भने।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही फागुन २० गते संसद्मा दर्ता भएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विधेयक दर्ता गराएको हो । सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा शर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयता अनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक ल्याइएको जनाइएको छ । मन्त्री जोशीले जनताले अनुभूत गर्नेगरी तीन तहका सरकार मिलेर काम गर्नुपर्ने खाँचो औँल्याए । तीन तहका सरकारमध्ये प्रत्यक्ष जनतासँग जोडिएको स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले कोभिड–१९, भूकम्पलगायत विपद्जन्य घटनामा स्थानीय निकायले आवश्यकता र सक्रियताको पुष्टि गरेको उल्लेख गरे ।

मन्त्री जोशीले स्थानीय सरकारलाई कानून, स्रोतसाधन, बजेटका हिसावले सवल, सक्षम र प्रभावकारी बनाइनुपर्ने धारणा राखे ।

प्रकाशित मिति:March 13, 2024