गठबन्धनमा समस्या परेपछि नयाँ गठबन्धन बनाएको: ओलीको टिप्पणी

  Sampatti News

March 13, 2024

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री दाहालको चाहना र आफूहरूको सहयोगमा सरकार पुनः गठन भएको बताउनुभयो ।

सरकार पुनः गठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्न आवश्यक नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हाम्रो आवश्यकताका आधारमा सरकार परिवर्तन भएको हो । यो काम हामी नेपालका दलहरू मिलेर गरेका हौँ । प्रधानमन्त्री दाहाल मुख्य हो र साथ दिने म पनि हुँ । हामीलाई जस दिए हुन्छ । यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक छैन ।”

प्रधानमन्त्रीले राखेको विश्वासको मतलाई समर्थन गर्दै प्रतिनिधिसभामा ओलीले भने, ‘हामीले सँगै मिलेर ठूल्ठूला काम गरेका छौं । राम्रो काम भएजति आफैंले गरेको भन्छ कांग्रेसले, अरुलाई एकछेउ जस दिन्छ ?,’ उनले भने, ‘सरकार गठनलगायत सानातिना आन्तरिक काम, यत्तिको काम त हामीले गरेको भनेर भन्नु नि । यो हामीले गरेको हो । प्रचण्डजी मुख्य हो । साथ दिने म पनि हो । दुई भाइलाइ जस दिए पनि हुन्छ नि !’

ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरे । उनले विगतमा भोटै नमाग्दा पनि समर्थन गर्ने कांग्रेसले अहिले पनि त्यो गर्दा हुने बताए । ‘पोहोर साल कांग्रेस भोटै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ ब्याट्री हालेजस्तो थियो । समर्थन गरेको थियो । अब अहिले समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने, पोहोर एकदम सकारात्मक भाषण गर्नुभएको थियो उफ्रीउफ्रीकन, यसपल्ट के भयो त्यस्तो फेरि ?,’ उनले प्रश्न गरे ।

प्रकाशित मिति:March 13, 2024