भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

Nepal Cover
१ चैत्र २०८०, बिहीबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर देवीप्रसाद पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रकम हिनामिना गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख पाण्डेसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेशसिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाही र सिड्डीखोला फुकलछडा जल–उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन् ।

जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित सिँचाइ आयोजनामा तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित प्राविधिकहरूले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले पाण्डेविरुद्ध १४ लाख १७ हजार ९३५ रुपैयाँ, कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपैयाँ, सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६, शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपैयाँ बिगो माग गरेको छ ।

अख्तियारले सिँचाइ उपभोक्ता समितिका पदाधिकारीहरुले भने सम्झौता र इस्टिमेट बमोजिम काम नगरेको पाइएको बताएको छ । स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्यांकन हुँदा यथार्थ काम भन्दा १४ लाख १७ हजार ९३५ रुपैयाँ बढी भुक्तानी भएको देखिएको अख्तियारको दाबी छ ।