चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

March 14, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

उनीहरूले खानेपानी मर्मत योजनामा पाँच लाख १५ हजार १०८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाही, अध्यक्ष चौलागाईं, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, सब इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा, कोषाध्यक्ष बिरकुल्ली बुढा र चंखेली-३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी मर्मत योजनाको फिल्डमा काम नै नभए पनि काम सम्पन्न भएको भन्दै ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको  अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित मिति:March 14, 2024