बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिने तयारीमा सीआईबी

  Sampatti News

March 17, 2024

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

चौधरी समूहले बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनीभन्दा बढी सरकारी जग्गा राजनीति/प्रशासनिक साँठगाँठमा हडपेको छ। सो जग्गामा विनोद चौधरीको घरानाले सीजी चाँदबाग स्कूल लगायत व्यापारिक संरचना ठड्याइसकेको छ। कारखानाको १० रोपनी सरकारी जग्गा मिलेमतोमा नामसारी गरेका विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माघ १८ गते पक्राउ गरेको थियो।

कम्पनीमा करणदास चौधरी र परिवारको ५१ प्रतिशत शेयर रहने भनिएको थियो । २५ प्रतिशत बाँसबारी छाला जुत्ता उद्योग र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो । १३ भदौ २०४३ मा भएको सम्झौताअनुसार २७ कात्तिक २०४३ मा यो कम्पनी दर्ता भएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसबेलासम्म विनोद चौधरीको विवरण कागजातमा देखिने अधिकृतहरु बताउँछन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको पारिवारिक सदस्यले दबाब दिँदा र काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि चौधरी माघ २४ गते छुटेका थिए। हिरासतमा रहँदा सीआईबीलाई हडपिएको जग्गा फिर्ता गर्ने बताएका चौधरी छुटेलगत्तै सरकारी जग्गा पचाएरै छाड्ने योजनामा लागेका छन्‌।फागुन १३ गते नै बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा फागुन  रिट दायर गरेका थिए।

यसअघि सीआईबीले व्यवसायी चौधरी, च्याम्पियन्स फूटवेयर प्रालिरसीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्‍चालक सञ्‍जय ठाकुर र तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका अध्यक्षरच्याम्पियन्स फूटवेयर लिमिटेडका सञ्‍चालक समिति अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध मुद्दा चलाउने जनाएको थियो। अरूण चौधरी विनोदका कान्छा भाइ हुन्‌। उनी तत्कालीन च्याम्पियन्स फूटवेयर लिमिटेडका शेयरधनी तथा सञ्चालक एवम्‌ हालको सीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक हुन्‌। उनै चौधरीले बाँसबारीको जग्गा हडप्दा मालपोत कार्यालयमा लिखतहरूमा सहीछाप गरेको सीआईबीले जनाएको छ।

यो मामिलामा लामो समय अनुसन्धान गरेरै चौधरीलाई पक्राउ गरिएको सीआईबीले जनाएको थियो। नेपाल सरकारको जमिनलाई तत्कालीन श्री ५ को सरकारको कुनै निर्णयबिनै बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापाले कुनै एउटा कम्पनीको नाममा शेयरको रूपमा लिएर विस्तारै त्यसलाई आफ्नो प्राइभेट कम्पनीमा बदलेको सीआईबीको ठहर छ।

प्रकाशित मिति:March 17, 2024