जनमतले लुम्बिनी प्रदेशको सीमांकन र नामांकन  परिवर्तन गर्न आन्दोलन गर्ने

  Sampatti News

March 18, 2024

वीरगञ्ज । कोशी प्रदेशमा चलिरहेको पहिचानवादीको आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न जनमत पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक विभिन्न सातवटा निर्णय गर्दै सकिएको छ। शनिबार र आइतबार दुई दिन वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विभिन्न विषयमा सातवटा निर्णय पारित गरेको पार्टीका राष्ट्रिय सचीव बिपी साहले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिके राउतले पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंनका लागि आन्दोलनको नेतृत्व गर्ने निर्णय गरिएको बताए । मधेश–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन समेत आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको उनले बताए । अध्यक्ष राउतका अनुसार बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ ।

त्यस्तै, आगामी वर्षायाममा किसानलाई मलखाद र बीउबिजनको समयमै सहज उपलब्धताका लागि समेत सरकारलाई दबाब दिने निर्णय समेत बैठकले गरेको छ ।

केन्द्रीय समिति बैठकमा ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण’ तथा ‘गणतन्त्र तथा सामाजिक लोकतन्त्रको लडाइ’ शीर्षकका दुई राजनीतिक प्रस्तावहरु पेश गरिएका थिए । दुवै प्रस्तावहरुमाथि छलफलपछि पारित गरिएको अध्यक्ष राउतले बताए ।

त्यसैगरी, प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने, मधेसमा सुख्खायाममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने निर्णय गरिएकाे छ।

आगामी जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने जनमत पार्टीले जनाएकाे छ।

प्रकाशित मिति:March 18, 2024