महाधिवेशनकाे तयारीमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

  Sampatti News

March 19, 2024

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने,’हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।” पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही चैत २५ गतेसम्म चल्ने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।

प्रकाशित मिति:March 19, 2024