हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र वडाध्यक्षसहित १० जना विरुद्ध मुद्दा दर्ता

  Sampatti News

March 19, 2024

काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हरिपुर नगरपालिकाका तत्कालिन उपप्रमुख रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसँगै वडा नं. १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, वडा सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, नगरपालिकाका इन्जिनियर रंजित साह, सव–इन्जिनियर संजीव चौधरी, नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्सेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ्ग र कोषाध्यक्ष निर्मालाकुमारी देवी विरुद्ध विशेष पनि विशेष अदालत काठमाडौंमा आयोगले मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता नरहरी घिमिरेलेका अनुसार उनीहरुले आर्थिक वर्ष २०७५–०७६ मा नगरपालिकाको वडा नम्बर एक स्थित लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको पुष्टी भएपछि अदालतमा मुद्दा दायर गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल, इन्जिनियरसाह, सव–इन्जिनियर चौधरी विरुद्ध ८५ लाख १८ हजार ६३२ रुपैयाँ विगो दाबी गरिएको उनले बताए । यस्तै उपप्रमुख काफ्ले, सदस्य बलम्पाकी, सदस्य कुमर, वडा अध्यक्ष लामालाई कैद र जरिवानासमेतको सजाय हुन माग दाबी गरिएको छ भने उपभोक्ता समितिका अध्यक्ष बस्नेत, सचिव घिसिङ्ग र कोषाध्यक्ष देवी विरुद्ध ८५ लाख १८ हजार ६३१ रुपैयाँ विगो दाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति:March 19, 2024