प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति अर्याल पक्राउ

  Sampatti News

March 19, 2024

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति ४४ वर्षीय केदार अर्याल पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी काठमाडौं–३ महाराजगन्ज (हाल : कागेश्वरी मनोहरा–१० पेप्सीकोला)का हुन् । अर्याललाई काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बिहान ९ बजे राजधानीकै सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरिएको हो ।

उनी पक्राउ पर्नुको कारण भने प्रसाईंको उजुरी होइन । अर्याल पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताएर प्रलोभनमा पार्दै कारोबार गरेकोमा ५० लाख बैंकिङ कसुर मुद्धामा फरार थिए । सो मुद्धामा पक्राउ परेका हुन् ।

यसअघि उनले मेडिकल व्यवसायी प्रसाईंलाई ठगेका थिए । उनीसँगको लेनदेन मुद्दामा झापा जिल्ला अदालतबाट ८४ लाख बिगो र २ दुई वर्ष कैदको फैसला भएको छ । अर्यालले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरी जनाउँछ ।

प्रकाशित मिति:March 19, 2024