आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

  Sampatti News

March 21, 2024

काठमाडौँ । आज संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्री वर्षमान पुनसँग छलफल हुनेछ । बैठकमा कार्य योजना उपसमितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिका र कैद भुक्तान गरिरहेका व्यक्तिको मानवअधिकारको अवस्था र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरिने कार्यसूची छ ।

त्यस्तै साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११ बजे बस्नेछ । समितिको कार्यक्षेत्र र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:March 21, 2024