सामाजिक मर्यादाभित्र रहेर होली खेल्न अध्यक्ष ओलीकाे आग्रह

  Sampatti News

March 24, 2024

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताएका छन् ।

ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा आज मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताएका हुन्।

“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उनले भने, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताए । उनले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गरे। “अरुमाथि आघात नपर्ने, सामाजिक सुसम्बन्धमा खलल नपर्ने कुरामा ध्यान दिनुपर्दछ । अरुको स्वतन्त्रमा खलल नपर्ने गरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्दछ । इच्छा विपरीत रमाइलो हुँदैन”, उनले भने ।

प्रकाशित मिति:March 24, 2024