बरोडासँग नेपाल ३७ रनले पराजित

  Sampatti News Online

April 5, 2024

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।जीतका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे। विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्।

कुशल मल्लले तीन, दीपेन्द्रसिंह ऐरी र आकाश जिसीले समान दुई–दुई रन बनाए भने अनिल साह र गुल्सन झाले समान एक–एक रन बनाए।

बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए। साथै, हेमन्त पुण्डेले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो। उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए। साथै अमित पासीले २६, मोहित मोंगियाले २० र अभिमन्युसिंह राजपुतले ११ रन बनाए।

नेपालका लागि करन केसी र गुल्सन झाले दुई–दुई विकेट लिँदा आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि नै फाइनलमा पुगिसकेका छन्। नेपाल गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो। 

प्रकाशित मिति:April 5, 2024