काठमाण्डौँ । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा सडकको ट्र्याक खोल्ने काम सकेर पहिलो पटक चार पाङ्ग्रे सवारी साधन पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दलका केही नेता र सरकारका दुई मन्त्रीहरू लिएर बिहीवार ओलाङचुङगोला पुगेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले पहिलो पटक उक्त ठाउँमा सडक पुगेको बताए । उनले जोगबनी हुँदै भारत र चीन जोडिने त्यो सबैभन्दा छोटो मार्ग भएको बताएका छन् ।
सडक विभागका अधिकारीहरूले ट्र्याक खुले पनि तत्कालका लागि फाट्टफुट्ट गाडी गुड्ने अवस्थामात्रै रहेको भन्दै उक्त सडकलाई कालोपत्रे गर्ने सहितका बाँकी काम पूरा गर्न कम्तीमा विक्रम संवत् २०८६ सालसम्म लाग्नसक्ने जनाएका छन् ।
तमोर कोरिडोर राष्ट्रिय गौरवको परियोजनाका रूपमा सूचीकृत गरिएको छैन ।
तर कोशी प्रदेशको सीमामा अवस्थित जोगबनीदेखि चीनसम्म सिमामा रहेको सङ्खुवासभामा अवस्थित किमाथाङ्कासम्मको कोशी कोरिडोरमा अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको भन्दै अधिकारीहरूले स्रोतको सुनिश्चितता भए कामले अझ तीव्रता पाउन सक्ने धारणा राखेका छन् ।
ओलाङचुङगोलामा गाडी गुड्न थालेपछि त्यहाँका स्थानीहरुलाई आवतजावत तथा समान ढुवानीमा निकै सहज भएको छ ।