April 25, 2024
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।
मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने नै हो ।’ कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यद्यपि कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् ।
प्रकाशित मिति:April 25, 2024
November 24, 2024