काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट रहेका छन् ।
भ्रष्टाचार भएको विषय छानबिन गरी दोषीउपर कारबाही माग गर्दै उजुरीहरु परेको भन्दै त्यस सम्बन्धमा सत्य–तथ्य छानबिन गर्न समिति गठन गरिएको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रस कार्यालयलाई आइतबार गरेको पत्राचारमा उल्लेख छ । नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्धका उजुरीउपर सत्य–तथ्य पत्ता लगाएर ४५ दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।