May 1, 2024
काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान भएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० को दफा ६ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्ति गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दरखास्त आव्हान गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर माग गरिएको छ।
सरकारी वा गैरसरकारी संघसंस्था वा कुनै कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा रही श्रम, रोजगार, उद्योग, वाणिज्य, व्यापार, प्रशासन, राजस्व, इञ्जिनियरिङ, व्यवस्थापन वा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हुनुपर्ने पनि योग्यतामा तोकिएको छ। आवेदक ४० वर्ष उमेर पुगेको हुनुपर्नेछ।
समितिसँग आफ्नो वा आफ्नो परिवारको सदस्यको निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको वा कर चुक्ता गरेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको हुनुपर्ने तोकिएको छ।
यस्तै किर्ते वा जालसाजीको आरोपमा सजाय नपाएको र प्रचलित कानुन बमोजिम कालोसूचीमा नपरेको पनि हुनु पर्नेछ । दरखास्तसँगै उम्मेदवारले व्यावसायिक कार्ययोजना पनि बुझाउनु पर्छ। कार्ययोजना बढीमा पाँच हजार शब्दसम्मको पेस गर्नु पर्छ। आवेदन दस्तुर २ हजार ५ सय रुपैयाँ छ भने आवेदन दिने समयावधि १५ दिनको छ ।
प्रकाशित मिति:May 1, 2024
November 23, 2024