नबिल बैंकबाट चोरी प्रकरणः दुई भारतीय सहित चार जना पक्राउ

  Sampatti News Online

May 1, 2024


वीरगन्ज । वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार चोरी भएको घटनामा संलग्न रहेको समूहमध्ये प्रहरीले केहि रकम सहित चार जनालाई पक्राउ गरेको छ ।
चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको घोडासहनबाटपनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न समूहका बाँकी एक जना भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
हालसम्म पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पथरा बुधरामका सन्जय जयसवाल र छोटेलाल जयसवाल रहेका छन् । त्यस्तै भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई नियन्त्रणमा लिएको हो ।
सन्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ पक्राउ गरेको हो । उनीहरू दुवै जना रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका बेला प्रहरीले बस घेरा हालेर नियन्त्रणमा लिएको हो।ती दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।
मन्टु र ललनलाई भने भारतीय प्रहरीले घोडासहनबाट नियन्त्रणमा लिएको हो । उनीहरू अहिले भारतीय प्रहरीकै हिरासतमा छन् । उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको श्रोतले बताएको छ ।
बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरूको समूहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सीसीटीभीको फुटेजमा देखिएको थियो ।
शाखा प्रबन्धक पौडेलका अनुसार बैंकको भल्टभित्र रहेको फलामे सेफमा पनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो ।

प्रकाशित मिति:May 1, 2024