१६ लाख नागरिक सवारी चालक अनुमति पत्रको पर्खाइमा, दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी

Nepal Cover
२१ बैशाख २०८१, शुक्रबार
image

काठमाण्डौ । झन्डै १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स( को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको दाबी गर्नुभएको हो । हिजो प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिए ।

यसअघि विभिन्न कारणले लाइसेन्स छपाइ बन्द भएकोमा झन्डै एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको उहाँको भनाइ छ । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताए।

लाइसेन्सका लागि दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र अहिले छपाइ हुने गरेको छ । रासस