घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

  Sampatti News Online

May 3, 2024

लेखनाथ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा पोखरा महानगरपालिकाका दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका कर्मचारी सुरज कुँवरविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टंगाल पठाएको थियो । बराललाई वैशाख ४ गते र रोकायालाई चैत २८ गते पक्राउ गरिएको थियो । बराल र रोकाया दुवै घर नक्सा शाखाका कर्मचारी हुन् । अख्तियारले चैत २८ गते सोही घटना संलग्नताको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कुँवरलाई पनि पक्राउ गरेको थियो ।

रोकाया र कुँवरलाई सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित अख्तियारले रंगेहात पक्राउ गरेको थियो । तीन जनाले मिलेर घर निर्माणको प्रमाणपत्र दिन साढे तीन लाख घूस माग गरेको अनुसन्धानमा खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ ।

तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख पचास हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति:May 3, 2024