‘ठेउका’ का कारण अकालमै ज्यान गुमाउदै पुर्चौडीबासी

  Sampatti News Online

May 3, 2024

बैतडी । ‘ठेउका’ (एक प्रकारको गुणस्तरहिन मदिरा) का कारण बैतडीको पुर्चौडी नगरपालिका–३ को ग्रामिण क्षेत्रका नागरिक अकालमै ज्यान गुमाई रहेको घट्ना सार्वजनिक भएको छ । वडा नम्बर ३ को जेबलधार र कसाड ठाडाइजरमा एक हप्ताको अवधिमा ठेउकाकै कारण दुई जना पुरुषको लडेर ज्यान गएको छ । स्थानीय साँफेबजार र न्वाला बजारमा पाइने स्वास्थ्यका दृष्टिकोणले अति खराब गुणस्तरहिन ‘ठेउका’ मदिरा पिएर घर फर्कने बेला वैशाख ९ गते राती स्थानीय काटेबाटोको भिरबाट लडेर जेबलधारका स्थानीय अन्दाजी ६० वर्षिय शिवे बोहराको ज्यान गयो । उनि लडेको ३-४ दिनपछि गन्हाएको अवस्थामा स्थानीयले उनको शव फेला पारेका थिए ।
पुर्चौडी नगरपालिकाको वडा नम्बर ३ र ४ को सीमानामा रहेको माहादेव मन्दिरमा वैशाख ९ गते लागेको जात्रा हेर्न गएका उनि घरपरिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो । स्थानीय न्वाला बजारमा सजिलै उपलब्ध हुने ठेउका संधै खाइरहने उनको भिरबाट लडेर अकालमै ज्यान गएको त्याँहाका स्थानीयले बताएका छन् । उनी लडेको केहि दिनपछि अर्थात वैशाख १६ गते कसाड ठाडाइजरका अन्दाजी ४६ वर्षिय बिरे बोहराको पनि लडेर मृत्यु भएको छ । ठेउकाकै कारण उनको पनि लडेर मृत्यु भएको बताइएको छ । स्थानीय साँफे बजारबाट ठेउका खाएर घर आएका उनि घर पुग्नुभन्दा केहि माथि भिरबाट लडेर मृत्यु भएको बताइएको छ । ठेउकाकै कारण गत वर्षको जेठ महिनामा सोही वडास्थित सल्लेवनका अन्दाजी ६५ वर्षिय मानसिंह बोहराको स्थानीय नौलेपौड भन्नेभिरबाट लडेर ज्यान गएको थियो ।
स्थानीय न्वाला बजारमा रहेका सबैजसो पसलहरुमा अहिले बिना इजाजतपत्र गुणस्तरहिन मदिराको खुलेयाम विक्रिवितरण भइरहेको छ । भवानी स्थान माद्यमिक विद्यालयको छेउछाउमा रहेका ति पसलहरुले अहिले दिनभरी जुवातास खेलाउने तथा अवैध रुपमा ठेउकाको कारोबार गर्ने गरेका छन् । मदिरा तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐनले सार्वजनिक स्थलबाहेक शिक्षण तथा स्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र र अनाथालय क्षेत्रको कम्तीमा १ सय मिटरसम्म बिक्रीमा रोक लगाएको छ । तर, त्याँहा शैक्षिक संस्था क्षेत्रमा भइरहेको अवैध मदिरा बेचबिखन र जुवातास खेलाउन भने कसैले नियमन गरेको छैन् । उक्त विद्यालयका शिक्षकहरुले समेत सोही ठाउँमा जुवातास खेलेर दिन विताउने गरेको खुल्न आएको छ ।
न्वालामा महाकाली र कर्णाली नामका दुई थरीका ठेउकाका साथै अवैध घरेलु मदिरा विक्रिवितरण भइरहेको स्थानीय बताउछन् । ति दुई वटा ठेउका मध्ये एकको ८० रुपैया र अर्काको ६० रुपैया पर्ने गरेको छ । यसैबिच साँफेबजारमा ४ वटा मदिराका पसलहरु संचालनमा छन् । ३ किराना र २ वटा फेन्सी पसल रहेको सानो ग्रामिण बजारमा ४ वटा मदिराका पसलहरु संचालनमा रहेका छन् । स्थानीय सरकारले सानो बजारमा ४ वटा मदिरा पसल संचालन अनुमति दिनु र न्वाला बजारमा भइरहेको अवैध मदिरा विक्रिवितरणलाई नियमन नियन्त्रण नगरेको प्रति त्याँहाका स्थानीय चिन्तित बनेका छन् ।

प्रकाशित मिति:May 3, 2024