कैलाश सिरोहिया पक्राउ : यस्ता छन् ६ आधार र कारण

  Sampatti News Online

May 22, 2024

काठमाडौँ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । दोहोरो नागरिकताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपश्चात जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् ।

सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा जनमानसको ठूलो हिस्सामा खुशी छाएको देखिन्छ । तर, सञ्चार जगतका अगूवाहरु र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले यसको निन्दा गरेका छन् । सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर पनि भत्र्सना गरिएको छ ।

अर्कोतर्फ प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको बचाउमा उभिएको छ । कांग्रेसका केही प्रभावशाली सांसदहरु आज कान्तिपुर कार्यालयमै पुगेर सिरोहियालाई सान्त्वना दिएका थिए । सिरोहियामाथि प्रक्राउ पूर्जी जारी हुनासाथ संसदमा कांग्रेस सांसदले उनको पक्षमा आवाज उठाएका थिए । कांग्रेसको यस्तो कार्यले यो प्रकरणको राजनीतिकरण हुनसक्ने देखिन्छ ।

अर्कोतर्फ आफूविरुद्ध कान्तिपुरले धारावाहिक समाचार लेखिरहेको हुँदा सिरोहियामाथि गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधेको आशंका र टिप्पणीहरु पनि भइराखेका छन् । यद्यपि, लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श नगरिकन यो कदम चाले होलान् भन्न सकिन्न ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१–०१–२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको उल्लेख छ । 

कैलाश प्रसाद सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका  मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको देखिएको पनि कार्यालयले उल्लेख छ।

सोही ब्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९–०८–२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको प्रहरीले जनाएको छ ।

कैलाशप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६–०५–२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७–०६–२९ माप्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९–०८–२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको  तथा सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेकोले पक्राउ गरिएको प्रहरीको दाबी छ । 

हिजो पक्राउ परेसँगै धनुषा पुर्‍याइएका उनलाई आज म्याद थपको लागि अदालत लैजाने प्रहरीको तयारी छ । 

प्रकाशित मिति:May 22, 2024