विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

  Sampatti News Online

May 22, 2024

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति:May 22, 2024