जनता समाजवादी पार्टीका कुनै गतिविधि नरोकिने

  Sampatti News Online

May 23, 2024


काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जनता समाजवादी पार्टीका महासचिव राईले पार्टीका कुनै गतिविधि नरोकिने बताएका हुन् ।
पछिल्लो समयमा पार्टीका तर्फबाट महासचिव राईले कडा रुपमा प्रस्तुत हुने पनि बताउदै आएका छन् । सर्वोच्च अदालतबाट अर्को आदेश नआएसम्म निर्वाचित जनप्रतिनिधिको बाँकी सनाखत गर्ने काम अल्पकालीन अन्तरिम आदेशबाट तत्काललाई रोकिएको बताउँदै राईले बाँकी काम गर्न सकिने बताए ।
जसपामा समर्थन गरी सनाखत गरेका जनप्रतिनिधिहरूको पक्षधरता यथावत् कायम हुने समेत दाबी गरेको छ । राईले सर्वोच्च अदालतले दल दर्ताको थप प्रक्रिया अगाडि नबढाई पार्टीलाई यथास्थितिमा राख्न भनेको छ तर त्यो पार्टीबाट कुनै पनि गतिविधि नगर्नु नगराउनु भनेको छैन तर त्यही भएर पार्टीका गतिविधिहरू अगाडि बढाएको छ ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को मुद्दा दायर गरेर जनतामा भ्रम छर्ने काम गरेको समेत उनले बताएका छन् । राईले सात जना सांसद जसपाको होइन भने कुरा सर्वोच्च अदालतको अल्पकालीन आदेशमा नभएको र पुनः त्यसले विश्वासको मत दिन नपाउने भनी कसरी र किन रिट दायर गरेको भन्दै प्रश्न समेत गरेका छन् ।
जनता समाजवादी पार्टी संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगले नै सो सम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।
सोहीअनुसार निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई जसपा गठन हुनुभन्दा अघि जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यहरूलाई नयाँ दल गठन भएको एक्काइस दिनभित्र सनाखत गराउन पनि भनेको छ ।
त्यस्तै सर्वोच्च अदालतले पार्टीलाई यथावत् अवस्थामा राखी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । यी सबै कुरालाई प्रभावित पार्ने गरी जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेकोप्रति महासचिव राईले आपत्ति समेत जनाएका छन् ।

प्रकाशित मिति:May 23, 2024