आइसीसी टी–२० विश्वकपः सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने

सन्दीपको अमेरिका यात्रा आगामी हप्ता मात्रै निश्चित हुने

  Sampatti News Online

May 25, 2024

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ। सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन्। उनी अदालतको कानूनी प्रक्रियामा रहेकाले समावेश नगरिएका हुन्। उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपलाई विश्वकपको स्क्वाडमा समावेश गर्नका लागि क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ।

आइसीसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरु अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा परेका छन् भने राजनीतिक भेटघाटका लागि व्यस्त भएपनि कुनै सकारात्मक सन्देश भने पाइसकेका छैनन्।

जसका कारण क्यानले आइसीसीलाई पत्राचार गर्दै आज नेपालले अन्तिम १४ जनाको टिम सार्वजनिक गर्ने र केही समय अर्थात् जुन २ सम्मको समय दिन माग गरेको हो। क्यान स्रोतका अनुसार आज १४ जनाको खेलाडी लिस्ट सार्वजनिक हुने छ भने यदि सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ।

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप अमेरिका जाने तयारीमा रहेका थिए। सफाइ पाएको भोलिपल्टै क्यान पुगेर कागजी प्रक्रिया अघि बढाउन आग्रह गर्दासम्म आफूसँग अझै २ वर्षको भिसा भएको भन्दै जाने कुरामा ढुक्क देखिएका थिए। तर, जाने तयारीमा रहेका बेला सन्दीपको यसअघिको भिसा रद्द भएको इमेल पाएपछि भने छाँगाबाट खसेको जस्तै भएर पुनः नयाँ प्रक्रिया सुरु गरेका थिए। नयाँ प्रक्रिया अनुसार उनले आवेदन गर्दा दूतावासबाट भिसा रिजेक्टमा परेपछि अहिले नेपाल क्रिकेट संघ क्यान र सरकारले पहल थालेका कुराहरु पनि सार्वजनिक भएका छन्। यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, युवा तथा खेलकुदमन्त्री र राखेपले सहजीकरण गरिरहेको बताइएको छ।

प्रकाशित मिति:May 25, 2024