भ्रष्टाचार मुद्दामा पौडेल दोस्रो पटक दोषी ठहर

  Sampatti News Online

May 28, 2024

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेस गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ गते पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र (पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यसअघि गत मङ्गलवार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख बिगो र त्यति नै असुल्ने फैसला गरेको थियो ।

प्रकाशित मिति:May 28, 2024