न्यायाधीश सुनिल पोखरेलको इजलासमा सुनुवाइ हुँदै गृहमन्त्री लामिछानेविरुद्धको रिट

Nepal Cover
१७ जेष्ठ २०८१, बिहीबार
image

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।  गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन प्रभावित हुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ। सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए ।

रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ। त्यस्तै विभिन्न जिल्लामा ठगीको अभियोग पत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर रिटमा गरिएको छ। रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ।