बिभिन्न दल परित्याग गरी आजपा प्रवेश, प्रभु साह द्वारा स्वागत

  Sampatti News Online

May 31, 2024

बारा १८ जेठ । बाराको बारागढी गाउँपालिका स्थित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ,
बारागढी गाउँपालिका–४ सुखीपथरामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता आजपामा प्रवेश गरेका हुन् । समाजसेवी सियाराम साहको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा उनीहरू आजपाका गोलबन्द भएको अध्यक्ष प्रभु साहले जानकारी दिए । देशमा व्याप्त बेथिति, भ्रष्टाचार एवं कुशासनको दुष्चक्रलाई तोड्न तथा विद्यामान सङ्कटहरूको ठोस निकास प्रदान गर्ने सवालमा आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने साहले बताए ।
उनले नवप्रवेशीहरुलाई अबिर मालाले स्वागत गरेका थिए ।
यसैबिच बुधवार आयोजित अर्को एक कार्यक्रममा साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न सरकारसँग माग गरे । आजपा पर्सा जिल्ला कमिटीले टाउनहलमा आयोजना गरेको कार्यक्रममा उनले वीरगन्जबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको बताए ।
‘वीरगन्ज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठ्ने गरेको छ । आर्थिक नगरी वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन । यथाशीघ्र वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन । वीरगन्ज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ सञ्जय मिश्रा

प्रकाशित मिति:May 31, 2024