गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

  Sampatti News Online

June 2, 2024

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको हो ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन् भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरितसमेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । दरपिठ भएपछि त्यसविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो ।

उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ। सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।

प्रकाशित मिति:June 2, 2024