June 4, 2024
काठमाडौँ । सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फर्स्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फर्स्योटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेको हो ।
अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन लागेका मुद्दा दुई दशक पुराना छन् ।
सर्वोच्चले आइतबार पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दालाई निर्णय सुनाउने मिति तोकेको छ भने पूर्वसहसचिव सावित्री राजभण्डारीको मुद्दामा फैसला गरेको छ । सोमबार पूर्वसचिव चक्रबन्धु अर्यालको मुद्दालाई पनि निर्णय सुनाउने मिति अदालतले तोकेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार अर्यालको मुद्दामा असार १० गते फैसलाको मिति तोकिएको छ ।
राजभण्डारी दोषी ठहर
सुरु अदालतमा मुद्दा दर्ता भएको दुई दशकपछि माथिल्लो अदालतले राजभण्डारीलाई दोषी ठहर गरेको हो । विशेष अदालतले गरेको फैसला आइतबार सर्वोच्चले पनि सदर गरेको हो । पुनरावेदन भएको ११ वर्षपछि सर्वोच्च अदालतले उक्त मुद्दाको अन्तिम किनारा लगाएको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार राजभण्डारीलाई दोषी ठहर गरेको हो । विशेष अदालतका तल्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ मङ्सिर १२ गते गरेको फैसला नै सर्वोच्चले सदर गरेको हो ।
फैसला अनुसार राजभण्डारीलाई एक वर्षको कैद सजाय हुने छ । यस्तै दुई करोड ४६ लाख रुपियाँ जरिबाना हुने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ भदौ ५ गते मुद्दा दायर गरेको थियो । २०२२ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका राजभण्डारी तत्कालीन भौतिक योजना मन्त्रालयको सहसचिव रहँदा अवकाश पाएका थिए।
जोशीको मुद्दामा साउन १३ मा फैसला
यस्तै सर्वोच्चले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला सुनाउने मिति तोकेको छ । २०६९ सालदेखि विचाराधीन मुद्दामा अदालतले बहस सकेर निर्णयको मिति तोकेको हो । सुरु अदालतमा दर्ता भएको २० वर्षपछि जोशीको मुद्दा अन्तिम टुङ्गो लाग्न लागेको हो । विशेषले २०६९ साउनमा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय विनोश शर्मा र बालकृष्ण ढकालले जेठ १ गतेदेखि मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । दुवै पक्षको बहस सकेपछि मुद्दाको निर्णय सुनाउने मिति तोकिएको हो । अदालतले असार २१ गतेसम्म बहस नोट पेस गर्न र साउन १३ मा निर्णय सुनाउने आदेश गरेको हो ।
विशेषले जोशीलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपियाँ बिगो भराउने फैसला गरेको थियो । बिगो अनुसारकै जरिबानाको फैसला पनि विशेषले गरेको थियो । विशेषको फैसलामा चित्त नबुझाउँदै जोशीले २०६९ फागुन ६ गते सर्वोच्चमा पुनरावेदन दर्ता गर्नुभएको थियो ।
अर्यालको मुद्दा निसुमा
यस्तै सर्वोच्चले पूर्वसचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दामा असार १० गते फैसला सुनाउने (निसु) मिति तोकेको छ । विशेष अदालतले अर्याललाई एक वर्ष छ महिना कैद र ६६ लाख दुई हजार ५३० रुपियाँ जरिबानाको फैसला गरेको थियो । जरिबाना बराबरकै बिगो जफतको फैसला पनि विशेषले गरेको थियो । अख्तियारले अर्यालविरुद्ध २०६० मङ्सिर १० गते मुद्दा दायर गरेको थियो ।
२०२२ मा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका अर्यालले २०५६ वैशाख २२ गते अवकाश पाउनुभएको थियो । सुरुमा विशेष अदालतले २०६४ भदौ १४ गते हदम्यादको कारण देखाउँदै मुद्दा खारेज गरेको थियो तर सर्वोच्च अदालतको आदेश अनुसार मुद्दा पुनः विशेषमै फर्किएको थियो । सर्वोच्चले अर्यालको २०६८ पुस १२ गते विशेषमै फर्काएको थियो । २०६९ वैशाख १२ गते विशेषले अर्याललाई भ्रष्टाचारी ठहर गरेको थियो । गोरखापत्रबाट
प्रकाशित मिति:June 4, 2024