नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पायो

  Sampatti News Online

June 7, 2024

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।

परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पहिलो र सार्वजनिक संस्थानहरूमध्ये पनि पहिलो आइएसओ ९००१ः२०१५ प्राप्त गरेको बताए ।

आईएसओ प्राप्त भएसँगै परिषद्को नागरिक पत्र मार्फत दिइने सबै सेवाहरू र कार्यालय व्यवस्थापन एक अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ ।

नेपाल पशु चिकित्सा परिषद्ले विशेष गरी नेपालका पशु चिकित्सकहरूको लाइसेन्सिङ परीक्षा लिने, नाम दर्ता गर्ने, भेटेरिनरी पढाई हुने शैक्षिक संस्थाको नियमन गर्ने, पशु चिकित्सकहरूको क्षमता विकासका लागि निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने, भेटेरिनरी सेवाको गुणस्तरका लागि जनशक्तिहरूको आचारसंहिता कार्यान्वयन गर्ने लगायतका कार्य गर्दै आएको छ ।

पछिल्लो समय आधुनिकतालाई मध्यनजर गर्दै परिषद् पूर्णरुपमा ‘डिजिटलाइज’ भएको छ शाहीले बताए । ‘सबै सेवाग्राहीहरुले आफू बसेको ठाउँबाटै द्रुत गतिमा सबै सेवा लिने प्रणालीको विकास भएको छ,’ उनले भने ।

प्रकाशित मिति:June 7, 2024